चट्याङले सर्लाहीमा भीषण आगलागी: घरगोठ जले, पशुचौपाया नष्ट, एक घाइते

एक महिना अगाडि
चट्याङले सर्लाहीमा भीषण आगलागी: घरगोठ जले, पशुचौपाया नष्ट, एक घाइते

जनकपुरधाम । सर्लाही जिल्लाको धनकौल गाउँपालिका-४ मैनाथपुर पकाहा टोलमा शनिबार राति चट्याङ पर्दा भीषण आगलागी भएको छ। घटनामा ठूलो धनमालको क्षति हुनुका साथै एक जना घाइते भएका छन्।

राति करिब ११:३० बजे परेको चट्याङका कारण स्थानीय रामस्वरुप रायका करिब ६० वर्षीय छोरा सिताराम यादव घाइते भएका हुन्। उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते यादवलाई तत्काल रौतहटस्थित तराई अस्पतालमा भर्ना गरिएको छ र उनको अवस्था मध्यम रहेको बताइएको छ।

घटनाको जानकारी आइतबार बिहान करिब ३ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी टोली खटिएर घटनास्थल पुगेको थियो।

चट्याङपछि सुरु भएको आगलागीले यादवको घर र गोठ पूर्ण रूपमा जलेका छन्। आगलागीमा ९ वटा बाख्रा र ५ वटा भैंसी जलेर मरेका छन् भने एउटा पाडा घाइते भएको छ।

त्यसैगरी घरमा भण्डारण गरिएको करिब १ क्विन्टल चामल, १० क्विन्टल धान, २ क्विन्टल गहुँ र १ क्विन्टल मसुरोको दालसहित भाँडाकुँडा र लत्ताकपडा समेत पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

घटनाबाट भएको कुल क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।