काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले आफ्नो पार्टी सदस्यता नरहेको बताएपछि केहीले आलोचना गरेका छन् । केही सञ्चारमाध्यामले त मन्त्री घिसिङले झुट बोलेको समेत भनेका छन् । हेडलाइन सेभेनले यसबारे फ्याक्ट चेक गरेको छ । सुरुमा मन्त्री घिसिङको अभिव्यक्तिबारे बुझौं ।
मंगलवार ललितपुरमा इन्जिनियरहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले एक जिज्ञासुको प्रश्नको उत्तर दिंदै आफू आजका दिनसम्म कुनै दलमा आवद्ध नभएको बताए । के साँच्चै मन्त्री घिसिङ कुनै दलमा आवद्ध छैनन् ? यस प्रश्नमा उनका सचिवालयले उनी कुनै दलमा हालसम्म आवद्ध नरहेको प्रष्ट पारेको छ । अब रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता नै गरेको नि त भन्ने प्रश्न आउन सक्छ । त्यसअघि सो पार्टीसँग एकता गर्ने मन्त्री घिसिङ संरक्षक रहेको भनिएको उज्यालो नेपाल पार्टीको पनि कुरा आउन सक्छ ।
उनका सचिवालय र उज्यालो नेपाल पार्टीका पदाधिकारीका अनुसार उनी अहिलेसम्म औपचारिक सदस्य छैनन् । उनी सो पार्टीसँग सुवेक्षा राख्छन् । अब कुरा आउँछ रास्वपासँगको सम्झौता पत्र । पत्रमा हेर्नुहोस्, पत्रको बुँदा नम्बर ४ मा सभापति रवि लामिछाने, उपसभापति कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने भन्ने उल्लेख छ ।
यो समझदारी बनेपनि बुँदा नम्बर ४ कार्यान्वयनमा आइसकेको छैन । त्यसअघि कम्तिमा उनले पार्टी सदस्यता लिनुपर्छ, त्यो लिएका छैनन् । किन भने उनी उज्यालो नेपाल पार्टीका पनि औपचारिक सदस्य होइनन । त्यसैले उनी रास्वपाको सदस्य बनिसकेका छैनन् र उपसभापतिको जिम्मेवारी पनि लिइसकेका छैनन् । उनको पार्टी सदस्यताको रेकर्ड निर्वाचन आयोगदेखि कुनै पार्टीमा देखिदैन । पार्टी राजनीतिको यात्रा सुरु गर्ने चाहना भएपनि हालसम्म उनी पार्टी सदस्यता नरहेको उनी पक्षधरले पनि बताएका छन् ।