रूपन्देही । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१२ पिपराहवामा शनिबार राति भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट (यूपी ३२ सिए ८३४३) को स्कार्पियो सडक किनारमा रोकिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका महाराजगञ्ज नगरपालिका–११ बनगाईका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ धर्मनगरका ५५ वर्षीय चिन्नी कुर्मीको उपचारका क्रममा कपिलवस्तु अस्पतालमा मृत्यु भएको हो।
त्यसैगरी दुर्घटनामा महाराजगञ्ज–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज–१० लालपुरका २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज–११ का २० वर्षीय सुरेश कुर्मी घाइते भएका छन्। उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।