काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाख महिनाभित्रै सार्वजनिक हुने भएको छ। परीक्षा सम्बन्धी काम तीव्र गतिमा अघि बढिरहेको जनाइएको छ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ र अहिले प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
उनका अनुसार अब एक–दुई दिनभित्र प्राप्ताङ्क इन्ट्री सकिनेछ। त्यसपछि विवरण रुजु (भेरिफिकेसन) गरिनेछ। रुजु प्रक्रियामा कुनै प्राविधिक समस्या नआएमा वैशाखको अन्तिम सातासम्म नतिजा प्रकाशन गर्ने तयारी रहेको छ।
गत चैत १९ गतेदेखि सुरु भएको एसईई परीक्षा चैत २९ गते सम्पन्न भएको थियो। यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी रहेका छन्।
नतिजा सार्वजनिक गर्ने तयारीसँगै बोर्डले बाँकी प्राविधिक प्रक्रिया छिटो टुंग्याउने लक्ष्य राखेको छ।