काठमाडौं । देशमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसकै कारण विभिन्न भूभागमा मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेससहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने बताइएको छ।
यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने क्रममा रहेकाले तातो दिनको अवस्था कायम रहने महाशाखाले जनाएको छ। सर्वसाधारणलाई मौसमअनुसार सतर्कता अपनाउन आग्रह गरिएको छ।