कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

एक महिना अगाडि
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आजदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ, जसमा नयाँ तथा पुरानो पाठ्यक्रमका साथै ग्रेडवृद्धिका विद्यार्थीहरू पनि सहभागी भएका छन् । परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुने तालिका छ।

यसपटक नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। तीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा र अन्य २९ जना परीक्षार्थी रहेका छन्। आंशिकतर्फ ८५ हजार ८३० जना सहभागी हुँदै कुल सहभागी संख्या ४ लाख १८ हजार ८ पुगेको बोर्डले जनाएको छ।

भौगोलिक रूपमा हेर्दा सबैभन्दा बढी परीक्षार्थी काठमाडौंबाट ६४ हजारभन्दा बढी छन् भने सबैभन्दा कम मनाङमा ३१ जना मात्र सहभागी छन्।

देशभर १ हजार ४२० परीक्षा केन्द्र तोकिएका छन् भने जापानमा समेत एक केन्द्र राखिएको छ। काठमाडौंमा सबैभन्दा धेरै १६१ केन्द्र छन् भने मनाङ र मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको छ।

परीक्षामा अनुपस्थित हुने विद्यार्थीका लागि पुनः परीक्षा व्यवस्था नरहने बोर्डले स्पष्ट पारेको छ।