बिपी राजमार्ग अझै अवरुद्ध, डाइभर्सन बारम्बार बगाउँदा यातायात प्रभावित

एक महिना अगाडि
बिपी राजमार्ग अझै अवरुद्ध, डाइभर्सन बारम्बार बगाउँदा यातायात प्रभावित

काभ्रे । बिपी राजमार्ग गत शनिबारदेखि अवरुद्ध रहेको छ र अझै सञ्चालनमा आउन सकेको छैन। रोशी खोलामा आएको बाढीले सडकका विभिन्न स्थानमा बनाइएका डाइभर्सन बगाउँदा यातायात ठप्प बनेको हो।

प्रारम्भिक रूपमा आइतबार दिनभरि अधिकांश क्षतिग्रस्त स्थानमा डाइभर्सन निर्माण गरिएको थियो। तर साँझ परेको वर्षापछि आएको पानीले ती संरचना फेरि बगाएपछि राजमार्ग पुनः अवरुद्ध भएको हो। विशेषगरी चिउरीबास, नार्के र चारसय बेँसी क्षेत्रमा बनाइएका डाइभर्सन सबैभन्दा बढी प्रभावित भएका छन्।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाले बगाएका १३ स्थानमध्ये ८ स्थानमा अस्थायी मर्मत गरिएको थियो। तर लगातारको वर्षाले पुनः क्षति पुर्‍याएपछि सोमबार बिहानदेखि फेरि डाइभर्सन निर्माण कार्य सुरु गरिएको उनले जानकारी दिए।

शनिबार आएको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा र माम्ती क्षेत्रमा सडक संरचना क्षतिग्रस्त बनाएको थियो। साथै सिन्धुली खण्डअन्तर्गत आँपघारी र नेपालथोकमा पनि डाइभर्सन बगाएको प्रहरीले जनाएको छ।

हाल रोशी खोला आसपासका क्षेत्रमा मौसम अनिश्चित रहेकाले मर्मत कार्यमा चुनौती देखिएको छ। सडक डिभिजन कार्यालय र सम्बन्धित ठेकेदार कम्पनीले मौसममा सुधार आएलगत्तै क्षतिग्रस्त भाग मर्मत गरी यातायात सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्।

यसबीच, वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा गर्दा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।