अर्थतन्त्रको ‘श्वेतचित्र’ : सुस्त वृद्धि, तर ७% लक्ष्यसहित सुधार योजना (स्वेतपत्रसहित)

एक महिना अगाडि
अर्थतन्त्रको ‘श्वेतचित्र’ : सुस्त वृद्धि, तर ७% लक्ष्यसहित सुधार योजना (स्वेतपत्रसहित)

काठमाडौं । नेपाल सरकारले नयाँ सरकार गठनसँगै देशको आर्थिक अवस्थाबारे श्वेतपत्र सार्वजनिक गरेको छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठनको सन्दर्भमा सार्वजनिक गरिएको उक्त प्रतिवेदनले वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे स्पष्ट चित्र प्रस्तुत गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गर्दै अर्थतन्त्र दीर्घकालीन रूपमा कमजोर संरचनामा फसेको निष्कर्ष निकालेका छन्। प्रतिवेदनमा विगतका नीतिगत भ्रष्टाचार, आसेपासे पुँजीवाद र राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा धकेलेको उल्लेख छ।
तथ्यांकअनुसार पछिल्लो एक दशकमा नेपालको औसत आर्थिक वृद्धिदर करिब ४.२ प्रतिशतमा सीमित रहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा यो दर अझै घटेर करिब ३.५ प्रतिशतमा रहने प्रक्षेपण गरिएको छ, जसले आर्थिक गतिविधिमा सुस्तता देखिएको संकेत गर्छ।
यद्यपि सरकारले आगामी वर्षहरूका लागि महत्वाकांक्षी लक्ष्य तय गरेको छ। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको बताएका छन्। साथै ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरभन्दा माथि पुर्‍याउने र समग्र अर्थतन्त्रको आकार करिब १०० अर्ब डलर नजिक पुर्‍याउने योजना प्रस्तुत गरिएको छ।
श्वेतपत्रले दीर्घकालीन आर्थिक सुधारका लागि प्राथमिकता क्षेत्र पनि निर्धारण गरेको छ। ऊर्जा, कृषि–आधारित उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्रमुख विकासका इन्जिनका रूपमा अघि सारिएको छ। सरकारले यी क्षेत्रमा लगानी वृद्धि, नीतिगत सुधार र संरचनात्मक परिवर्तनमार्फत अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्य राखेको छ।