सशस्त्र प्रहरी बलको नेतृत्वमा नारायणदत्त पौडेल, मन्त्रिपरिषद्को निर्णय

एक महिना अगाडि
सशस्त्र प्रहरी बलको नेतृत्वमा नारायणदत्त पौडेल, मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सशस्त्र प्रहरी बलको नयाँ महानिरीक्षक (आईजीपी)मा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बढुवा गर्दै संगठनको नेतृत्व सुम्पिएको हो।

हालका आईजीपी राजु अर्याल वैशाख १८ गतेदेखि चार वर्षे कार्यकाल पूरा गरी अवकाशमा जाने तयारीमा छन्। त्यसअघि नै सरकारले नयाँ नेतृत्व चयन गर्दै संगठनमा निरन्तरता दिन खोजेको देखिन्छ।

आईजीपी पदका लागि प्रतिस्पर्धामा रहेका अन्य वरिष्ठ अधिकारीहरूलाई पछि पार्दै वरीयताको आधारमा पौडेललाई जिम्मेवारी दिइएको हो। उनले वैशाख १९ गतेदेखि औपचारिक रूपमा सशस्त्र प्रहरी बलको कमान्ड सम्हाल्नेछन्।

सुर्खेतमा जन्मिएका पौडेलले नेपाल प्रहरीबाट आफ्नो सेवा यात्रा सुरु गरेका थिए । २०५४ सालमा इन्स्पेक्टर पदबाट सेवा थालेका उनी सशस्त्र प्रहरी बल गठन भएपछि २०५८ सालमा त्यहाँ स्थानान्तरण भएका थिए । त्यसयता उनले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै संगठनभित्र अनुभव सँगालेका छन् ।

प्रहरी निरीक्षक हुँदा द्वन्द्वकालीन समयमा रोल्पामा स्ट्राइकिङ टोलीको नेतृत्व गरेका पौडेलले त्यसबेला उत्कृष्ट कार्यका लागि पुरस्कृतसमेत भएका थिए। त्यसपछि उनले जिल्ला, क्षेत्रीय र केन्द्रीय तहका विभिन्न संवेदनशील जिम्मेवारी सम्हालेका छन्।

सशस्त्र प्रहरी बलमा रहँदा सीमा सुरक्षा, विशेष कार्यदल, मानवस्रोत व्यवस्थापन र नीति निर्माणसँग सम्बन्धित महत्त्वपूर्ण विभागहरूमा काम गरेको अनुभव उनीसँग छ। उनले संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापना मिसनमा समेत सहभागिता जनाएका छन्।