काठमाडौँमा सिक्री लुटपाट गर्ने गिरोह पक्राउ, ५ जना नियन्त्रणमा

एक महिना अगाडि
काठमाडौँमा सिक्री लुटपाट गर्ने गिरोह पक्राउ, ५ जना नियन्त्रणमा

काठमाडौं । काठमाडौँमा महिलाको घाँटीबाट सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न स्थानमा सक्रिय उक्त समूहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिका निवासी ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका छन्।

उनीहरूलाई चैत १२, चैत १९ र वैशाख ६ गते भएका सिक्री लुटपाटका घटनाको अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूबाट १२.९० ग्राम सुन, पेचकस, ठूला तथा साना रेन्ची, एक थान मोबाइल, खुकुरी तथा विभिन्न कपडाहरू बरामद गरिएको छ।

उक्त गिरोहलाई काठमाडौँ महानगरपालिका–तारकेश्वर नगरपालिका वडा नं. ४ पैँयुटार क्षेत्रबाट पक्राउ गरिएको हो। हाल उनीहरूमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।