काठमाडौं । उपत्यकाका अतिक्रमित सुकुमवासी बस्ती हटाउने अभियानअन्तर्गत हालसम्म १ हजार ९६१ घरटहरा भत्काइएको छ। नेपाल प्रहरीका अनुसार थापाथली, गैरीगाउँ र भक्तपुरको मनोहरा क्षेत्रका ५७८ पक्की र १ हजार ३८३ कच्ची संरचना हटाइएको हो।
यस अभियानबाट १० हजार ३२० जना प्रभावित भएका छन्। प्रभावितमध्ये ९३६ परिवार सरकारको सम्पर्कमा आएका छन् भने उनीहरूको व्यवस्थापनका लागि विभिन्न अस्थायी उपाय अपनाइएको छ। राधास्वामी आश्रममा ३२ परिवार राखिएका छन् भने ४०७ जनालाई होटलमा बसोबासको व्यवस्था गरिएको छ।
बाँकी अधिकांशले आफन्तको सहारा लिएका वा डेरामा सरेका छन्। सरकारले सार्वजनिक जमिन अतिक्रमणमुक्त बनाउने उद्देश्यले अभियान चलाएको बताए पनि पुनर्वासको स्पष्ट योजना नदेखिएको भन्दै आलोचना हुँदै आएको छ।