काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ। इन्धनको मूल्य निरन्तर बढ्दै गएपछि त्यसको प्रभाव यात्रुवाहक तथा ढुवानी सवारीमा परेको भन्दै मन्त्रीस्तरीय निर्णयमार्फत भाडा समायोजन गरिएको हो।
यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार अन्तरप्रदेशस्तरीय यात्रुवाहक तथा ढुवानी सवारीमा ५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको छ। विभागले बढेको भाडा आजैदेखि लागू हुने जनाएको छ।
यद्यपि, विभागले विद्युतीय सवारीसाधनलाई भने भाडा नबढाउन स्पष्ट निर्देशन दिएको छ। यदि विद्युतीय सवारीले भाडा बढाएको पाइएमा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यसअघि गत चैत २५ गते पनि सार्वजनिक यातायातको भाडा वृद्धि गरिएको थियो। बारम्बारको भाडा वृद्धिले यात्रुहरू भने मारमा पर्ने देखिएको छ।