काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज अपरान्हदेखि देशका विभिन्न भागमा तीव्र हावाहुरी चल्ने चेतावनी दिएको छ। विभागका अनुसार अपरान्ह ४ बजेदेखि सुरु हुने हावाहुरी भोलि बिहान ६ः४५ बजेसम्म जारी रहने सम्भावना रहेको छ।
यस अवधिमा मेघगर्जन, चट्याङ, असिना र वर्षा समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
कञ्चनपुर, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, चितवन, बारा, पर्सा, धनुषा, झापा, मोरङलगायतका जिल्लाहरू बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई सकेसम्म घरभित्र बस्न, झ्यालढोका राम्रोसँग बन्द गर्न तथा कमजोर संरचना सुरक्षित बनाउन आग्रह गरेको छ।