कुलमान घिसिङले दिए आफ्नो पदबाट राजीनामा

३ महिना अगाडि
कुलमान घिसिङले दिए आफ्नो पदबाट राजीनामा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइसहित शहरी, भौतिक मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा पुगी मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् ।

घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । त्यसक्रममा प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीन वटा महत्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकामा घिसिङलाई बधाई र धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

धन्यवाद ज्ञापनका क्रममा प्रधानमन्त्री कार्कीले भनिन, 'निकै प्रतिकूल अवस्थामा तपाईंले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ ।' उनले थपिन, 'रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्काबेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ । जनताले मूल्याङ्कन गर्ने छन् ।'

मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार प्रकट गरे । राजीनामा लगतै पत्रकार सम्मेलन गरेका घिसिङले आफूले अहिलेसम्म कुनै दलको सदस्यता नलिएको पुन: स्मरण गराएका छन् । उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति कार्यान्वयनमा नआएको बताउँदै उनले पुन: स्मरण गराएका हुन् । हेडलाइन सेभेनले मंगलबार उनको सचिवालयबाट जानकारी लिएको थियो ।

उनले भने, ‘राजनीतिमा जीवनमा औपचारिक प्रवेश गरेपछि मात्रै पार्टी सदस्यता लिने मेरो स्पष्ट धारणा थियो र अहिले पनि त्यही छ ।’ घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्नेसम्बन्धी समझदारी भइसकेको छ । समझदारीअनुसार उनी रास्वपाको उपाध्यक्ष बन्ने तय भएको छ ।