रोल्पा। रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा भएको भीषण जिप दुर्घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ। बोलेरो जिप (लु१ज ४१६७) भिरबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने स्थानीय यात्रु बोकेको थियो। दुर्घटना स्थल दुर्गम पहाडी क्षेत्रमा परेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको छ भने घाइतेहरूको संख्या र अवस्था खुल्न बाँकी छ। मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ। घटनापछि स्थानीयवासी शोकमग्न भएका छन्।