देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना, पहाडी क्षेत्रमा चट्याङ

एक महिना अगाडि
देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना, पहाडी क्षेत्रमा चट्याङ

काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ। पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यूनचापीय प्रणालीको संयुक्त प्रभावका कारण मौसममा बदली भई वर्षा हुने अवस्था बनेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

कोसी र मधेस प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। साथै वागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानहरूमा तथा सुदूरपश्चिमका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा मौसम अझ बदली हुने देखिएको छ। विभागका अनुसार कोसी, मधेस, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा अधिकांश स्थानमा बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

यस्तै, राति कोसी, मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसमविद्हरूले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। चट्याङ, हावाहुरी तथा वर्षाका कारण दैनिक जनजीवन, कृषि तथा यातायात क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।