आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस : हक अधिकार, रोजगारी सुरक्षामा केन्द्रित बहस

एक महिना अगाडि
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस : हक अधिकार, रोजगारी सुरक्षामा केन्द्रित बहस

काठमाडौं । 'आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम' भन्ने ऐतिहासिक नारासहित सुरु भएको श्रमिक आन्दोलनको सम्झनामा आज नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। सन् १८८६ मा अमेरिकाबाट सुरु भएको श्रमिक आन्दोलनले श्रम अधिकारका लागि विश्वव्यापी चेतना जगाएको थियो, जसको निरन्तरता आजसम्म कायम छ।

सन् १८८९ मा पेरिस मा सम्पन्न अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनको निर्णयअनुसार सन् १८९० देखि हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने परम्परा सुरु भएको हो। त्यसयता श्रमिक अधिकार, उचित पारिश्रमिक, सुरक्षित कार्यस्थल र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि यो दिनलाई विश्वभर विशेष रूपमा मनाइँदै आएको छ।

नेपालमा पनि विभिन्न कार्यक्रमका साथ दिवस मनाइँदैछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले रोजगारदाता, श्रमिक, ट्रेड युनियन तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिको सहभागितामा देशव्यापी कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा श्रमिकको वर्तमान अवस्था, न्यूनतम ज्याला, सामाजिक सुरक्षा, वैदेशिक रोजगारी, अनौपचारिक क्षेत्रका श्रमिकलाई औपचारिक दायरामा ल्याउने रणनीति लगायतका विषयमा बहस हुँदैछ।

नेपालमा श्रमिक आन्दोलनको इतिहास विसं २००७ को विराटनगर मजदुर आन्दोलन सँग जोडिएको छ। उक्त आन्दोलनपछि नेपालमा श्रमिक अधिकारबारे संगठित आवाज उठ्न थालेको थियो। विसं २०४६ को राजनीतिक परिवर्तनपछि भने सरकारले यो दिवसका अवसरमा सार्वजनिक बिदा दिन थालेको हो।

हाल नेपाल सरकारले श्रमिक अधिकार सुदृढ बनाउन विभिन्न नीतिगत सुधारहरू अघि बढाएको छ। श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ कार्यान्वयनमा ल्याइएको छ भने आवश्यक संशोधनको प्रक्रिया पनि अगाडि बढाइएको छ। श्रम बजारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने लक्ष्यसहित कानुन कार्यान्वयनमा जोड दिइएको मन्त्रालयले जनाएको छ।

हाल सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ, जसलाई प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने व्यवस्था छ। साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममार्फत करिब २९ लाख श्रमिक सामाजिक सुरक्षा कोष मा आबद्ध भइसकेका छन्।

नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको ठूलो भूमिका रहेको छ। ठूलो संख्यामा नेपाली श्रमिक विदेशमा कार्यरत छन् र उनीहरूले पठाउने विप्रेषण (रेमिटेन्स) ले अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको छ। सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विभिन्न सुधारका कार्यक्रम सञ्चालन गरिरहेको छ।

पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै श्रम बजारमा व्यापक परिवर्तन भइरहेको छ। नयाँ–नयाँ सीपको माग बढ्दै जाँदा श्रमशक्तिलाई प्रतिस्पर्धी र दक्ष बनाउनु चुनौतीपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा सरकारले स्वदेशमै रोजगारी सृजना, स्वरोजगार प्रवर्द्धन तथा सीपमूलक तालिममार्फत दीर्घकालीन समाधान खोज्ने नीति अघि सारेको छ।

यस वर्षको श्रमिक दिवस पनि श्रमिक अधिकारको संरक्षण, रोजगारी विस्तार र सामाजिक सुरक्षाको सुनिश्चिततामाथि केन्द्रित हुँदै विभिन्न कार्यक्रम र बहसका साथ मनाइँदैछ।