काठमाडौं । अभ्यास खेलमा महिला क्रिकेट टोली अमेरिकासँग ८ विकेटले पराजित भएको छ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल र अमेरिकाबीच बुधबार मूलपानी क्रिकेट मैदानमा अभ्यास खेल भएको थियो ।
नेपालले दिएको १ सय ५४ रनको लक्ष्य अमेरिकाले १६ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।
नेपालका लागि सम्झना खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । उनले २९ बलमा ९ चौकाको मद्दतमा ५४ रन बनाइन् । त्यस्तै, विन्दु रावल, रुविना क्षेत्रीले २०÷२०, कप्तान इन्दु वर्माले अविजित ३४ र कविता जोशीले नटआउट २० रन जोडिन् ।