विश्वकप लिग टूमा आज नेपाल र यूएईबीच खेल हुँदै

एक महिना अगाडि
विश्वकप लिग टूमा आज नेपाल र यूएईबीच खेल हुँदै

काठमाडौं । विश्वकप क्रिकेट लिग टू अन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

नेपालका लागि यो खेल महत्वपूर्ण मानिएको छ। यसअघि भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो भने ओमानसँग १०२ रनले पराजित भएको थियो। यूएईले भने ओमानलाई २५ रनले हराउँदै दुई अंक जोडेको छ।

अंकतालिकामा नेपाल २२ खेलमा १४ अंकसहित सातौं स्थानमा छ भने यूएई २२ खेलमा १२ अंकसहित आठौं स्थानमा रहेको छ। शीर्ष चार टोलीले मात्र विश्वकप छनोटमा स्थान बनाउने भएकाले दुवै टोलीका लागि जित अनिवार्यजस्तै बनेको छ।

नेपाल र यूएईबीचको खेल सधैं प्रतिस्पर्धात्मक हुने भएकाले यस खेललाई विशेष चासोका साथ हेरिन्छ। घरेलु मैदानमा खेल्दै गरेको नेपाललाई दर्शकको साथ पनि रहने अपेक्षा गरिएको छ।

अघिल्लो संस्करणमा नेपाल ४० अंकसहित तेस्रो स्थानमा रहँदै विश्वकप ग्लोबल छनोटमा पुगेको थियो। तर यसपटक भने टोलीको प्रदर्शन कमजोर देखिएकाले दबाब बढेको छ।