काठमाडौं । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई २९० रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको हो। नेपालको इनिङ्समा उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट शतकीय पारी खेले। उनले ९४ बलमा १०० रन बनाए पनि रनआउट हुँदै शतकपछि तुरुन्तै पवेलियन फर्किए।
त्यस्तै विनोद भण्डारीले ५६ रनको महत्वपूर्ण योगदान दिए भने कप्तान रोहित पौडेलले ३९ रन जोडे। गुलशन झाले पनि ४४ रन बनाउँदै टोलीलाई बलियो स्थितिमा पुर्याए।
बलिङतर्फ यूएईका अजय कुमार र जुनैद सिद्धिकीले समान दुई–दुई विकेट लिए भने तनवीर हैदर अलीले एक विकेट हात पारे।
यसअघि भएको भेटमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो। आजको खेलमा पनि नेपालले सोही लय कायम राख्ने लक्ष्य लिएको छ।