काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जिओ गोेरले सगरमाथा आधार शिविरमा अमेरिकी कार्गो ड्रोन ‘अल्ट्रा एक्स जेन–२’ को औपचारिक उद्घाटन गरेका छन्। कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधि स्कट चार्जको समेत उपस्थिति रहेको थियो।
विश्वकै उच्च स्थानमध्ये एक मानिने सगरमाथा आधार शिविरमा गरिएको उक्त प्रदर्शनलाई अत्याधुनिक प्रविधिको महत्वपूर्ण उपलब्धि भन्दै गोेरले यसले हिमाली क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्ने विश्वास व्यक्त गरे। उनले अमेरिकी प्रविधि र नेपालको सहकार्यले विशेषगरी उद्धार कार्य तथा दुर्गम क्षेत्रमा सामान ढुवानी प्रणालीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनका अनुसार यस प्रकारका ड्रोन प्रविधिले कठिन भौगोलिक अवस्थाका कारण परम्परागत ढुवानी असहज हुने हिमाली क्षेत्रहरूमा छिटो, सुरक्षित र भरपर्दो सेवा पुर्याउन सक्नेछन्। यसले प्राकृतिक विपद्, हिमपहिरो वा आकस्मिक दुर्घटनाका अवस्थामा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सगरमाथा क्षेत्र नेपालको उत्तरी भेगमा अवस्थित रहेर चीनसँग सीमा जोडिएको संवेदनशील भूभागसमेत हो। यस्तो क्षेत्रमा विकसित मुलुकको प्रविधि प्रदर्शन हुनु केवल प्राविधिक उपलब्धिमात्र नभई भूराजनीतिक सन्दर्भमा समेत अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी विश्व शक्ति राष्ट्रहरूबीच बढ्दो प्रतिस्पर्धा, क्षेत्रीय प्रभाव विस्तार गर्ने रणनीति र हिमाली क्षेत्रको सामरिक महत्वका कारण यस्ता गतिविधिले थप चासो उत्पन्न गर्ने विश्लेषण गरिएको छ।
नेपालले परम्परागत रूपमा सन्तुलित परराष्ट्र नीति अपनाउँदै आएको अवस्थामा यस्ता प्रविधिगत सहकार्यहरूले अवसर र चुनौती दुवै पक्ष उजागर गर्ने देखिन्छ। एकातिर यसले विकास, उद्धार र पूर्वाधार क्षेत्रमा नयाँ ढोका खोल्ने सम्भावना छ भने अर्कोतिर छिमेकी मुलुकहरूसँगको सम्बन्ध, सुरक्षा संवेदनशीलता र क्षेत्रीय शक्ति सन्तुलनजस्ता विषयमा सूक्ष्म रूपमा प्रभाव पार्न सक्ने विश्लेषकहरूको धारणा छ। यो मामिलामा चीनले चासो देखाएको छ ।

