काठमाडौं । कोसी प्रदेशमा पूर्णतया बादल लागेको छ भने मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ। बाँकी भूभागमा भने आंशिक बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै देशको पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ, जसका कारण देशभर मौसममा परिवर्तनशीलता देखिएको हो।
महाशाखाले बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार आज दिउँसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेश सहित अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्म वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली कायम रहनेछ। कोसी, बागमती र गण्डकीका केही स्थान तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैबीच, काठमाडौँ उपत्यकामा पनि आज हल्का वर्षाको सम्भावना रहेको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार अपराह्न वा साँझतिर हल्का वर्षा हुन सक्ने अनुमान गरिएको हो। उनका अनुसार अघिल्ला दिनको तुलनामा आजको वर्षा कम हुने देखिएको छ।
हाल काठमाडौँ उपत्यकामा आंशिक बदली रहेको र घामसमेत देखिने अवस्था रहेको उनले जानकारी दिए। दिनभर मौसम करिब यस्तै रहने अनुमान गरिएको छ।