सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु, एक गम्भीर घाइते

एक महिना अगाडि
सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु, एक गम्भीर घाइते

सुनसरी । सुनसरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दुर्घटना इटहरी र दुहबी क्षेत्रमा भएका हुन्।

प्रहरीका अनुसार इटहरी उप–महानगरपालिका–१७ पकलीस्थित भित्री सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००२ स ६६९५ नम्बरको पानी बोक्ने सिटी सफारी दुर्घटना हुँदा चालक इटहरी–१८ निवासी २५ वर्षीय बिकल चौधरीको मृत्यु भएको हो। सोही दुर्घटनामा २६ वर्षीय उमेश श्रेष्ठ गम्भीर घाइते भएका छन्।

दुर्घटनामा दुवै जनाको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएको थियो। उपचारकै क्रममा चालक चौधरीको शुक्रबार राति करिब ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना तीव्र गतिका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ।

यसैबीच, दुहबी नगरपालिका–२ तुथाहामा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। इनरुवाबाट दुहबीतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ११११ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा अन्दाजी ५० वर्षीय पुरुषको ज्यान गएको हो। मृतकको पहिचान भने खुल्न सकेको छैन।

दुर्घटनापछि घाइतेलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले राति करिब १० बजे मृत घोषणा गरेका थिए। प्रहरीले बस र चालक मोरङ विराटनगर महानगरपालिका–११ निवासी ३० वर्षीय मुकेश सहनी तथा सह–चालक सुनसरी इनरुवा नगरपालिका–३ का २४ वर्षीय सागर चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।