दूतावास संख्या घटाउने तयारी, खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति

एक महिना अगाडि
दूतावास संख्या घटाउने तयारी, खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति

काठमाडौं । सरकारले विदेशस्थित नेपाली दूतावास तथा महावाणिज्य दूतावासको संख्या घटाउने तयारी थालेको छ। परराष्ट्र मन्त्रालयले कूटनीतिक संयन्त्रलाई प्रभावकारी र खर्च-कुशल बनाउने उद्देश्यसहित बृहत् पुनःसंरचनाको गृहकार्य अघि बढाएको हो।

परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालय पुनःसंरचनासम्बन्धी खाका तयार पार्न निर्देशन दिँदै कूटनीतिज्ञ र विज्ञहरूसँग सुझाव संकलन गरिरहेका छन्। मन्त्रालयका एक सहसचिवका अनुसार हाल रहेका ३४ वटा दूतावास र १० वटा महावाणिज्य दूतावास गरी ४४ नियोगको पुनरावलोकन गरी करिब ८ देखि १० वटा दूतावास खारेज गर्ने गरी योजना बनाइँदै छ।

विगतमा राजनीतिक भागबण्डाका आधारमा अनावश्यक रूपमा दूतावास विस्तार गरिएको भन्दै अहिले त्यसको पुनर्मूल्याङ्कन गर्न लागिएको हो। यस क्रममा केही नियोग बन्द गरी सीमित तर प्रभावकारी दूतावास प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ।

केही दिनअघि परराष्ट्रमन्त्री खनालले पूर्वराजदूत विजयकान्त कर्ण र वरिष्ठ पत्रकार अजयभद्र खनालसँग छलफल गर्दै मन्त्रालयको पुनर्संरचनाबारे सुझाव लिएका थिए। कर्णले डेनमार्क, फिनल्यान्ड, पोर्चुगल, दक्षिण अफ्रिका, अस्ट्रिया, स्पेन, म्यानमार, इजिप्ट, क्यानडा र ब्राजिलस्थित नेपाली दूतावास खारेज गर्न सुझाव दिएका छन्।

उनका अनुसार यी देशमा रहेका दूतावासको काम नजिकका ठूला दूतावासमार्फत सञ्चालन गर्न सकिन्छ भने स्विजरल्यान्ड, फ्रान्स, बेलायत र अमेरिकास्थित दूतावासमा जनशक्ति थपेर सेवा विस्तार गर्न सकिने धारणा उनले व्यक्त गरे। यसले राज्यको ठूलो खर्च बचत हुने विश्वास गरिएको छ।

अनलाइन माध्यमबाट धेरै सेवा प्रवाह हुन थालेकाले केही महावाणिज्य दूतावाससमेत खारेज गर्न सकिने तर्क पनि अघि सारिएको छ। कर्णका अनुसार करिब २०–२२ देशमा मात्र दूतावास राखे पुग्ने अवस्था रहेको छ।

त्यसैगरी, लगानी आकर्षण र नेपाली वस्तुको निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राखेर दूतावास खोल्नुपर्ने सुझाव दिइएको छ। विशेषगरी भारतका मुम्बई र बेङ्लोरजस्ता प्रमुख आर्थिक केन्द्रमा महावाणिज्य दूतावास आवश्यक रहेको उल्लेख गरिएको छ, जहाँ ठूलो संख्यामा नेपाली नागरिक बसोबास गर्छन्।

यसैबीच सरकारले पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने तयारी पनि गरेको छ। यसअघि विभिन्न सरकारहरूले राजनीतिक कोटाबाट राजदूत नियुक्त गर्दै आएका थिए। हाल चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया लगायत १७ नियोगमा राजदूत पद रिक्त रहेका छन्।

मन्त्रालयका अनुसार खुला प्रतिस्पर्धामार्फत पारदर्शिता र योग्यता आधारित नियुक्ति सुनिश्चित गरिनेछ। यसका लागि उमेर, अनुभव र शैक्षिक योग्यता लगायतका मापदण्डसहित चाँडै विज्ञापन आह्वान गरिने तयारी छ। वैशाखभित्रै विज्ञापन निकाल्ने तयारी भइरहेको जनाइएको छ।

सरकारले पुनर्संरचना र नयाँ नियुक्ति प्रक्रियामार्फत नेपालको कूटनीतिक संयन्त्रलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखेको जनाएको छ।