विश्व प्रेस स्वतन्त्रता दिवस, अभिव्यक्ति अधिकार र लोकतन्त्र सुदृढीकरणमा जोड

एक महिना अगाडि
विश्व प्रेस स्वतन्त्रता दिवस, अभिव्यक्ति अधिकार र लोकतन्त्र सुदृढीकरणमा जोड

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रेस स्वतन्त्रता, अभिव्यक्ति अधिकार र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा जोड दिन प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ।

यो दिवसको सुरुवात युनेस्कोको पहलमा भएको हो। अफ्रिकी मुलुक नामिबियाको विन्डहक सहरमा आयोजित पत्रकार सम्मेलनबाट ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी भएपछि सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले औपचारिक रूपमा यो दिवस मनाउन थालेको हो।

यस वर्षको नारा “शान्तिमा भविष्य निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन” रहेको छ। यसले पारदर्शिता अभिवृद्धि, गलत सूचनाविरुद्धको लडाइँ तथा द्वन्द्वका समयमा लोकतन्त्रको संरक्षणमा पत्रकारिताको भूमिकालाई विशेष रूपमा उजागर गरेको छ।

युनेस्कोका अनुसार स्वतन्त्र र जिम्मेवार पत्रकारिता शान्ति निर्माणको महत्वपूर्ण आधार हो। अभिव्यक्ति स्वतन्त्रताको अभ्यासलाई सुदृढ बनाउन सञ्चार माध्यमहरूले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याइएको छ।

दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल तथा उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना सन्देश दिँदै प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धनमा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।