देशका विभिन्न स्थानमा आज मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

एक महिना अगाडि
देशका विभिन्न स्थानमा आज मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका विभिन्न भू-भागमा मौसम बदली भई मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा र मधेस प्रदेश सहित कोशी प्रदेशको तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। अन्य तराई क्षेत्रमा पनि एक–दुई स्थानमा यस्ता गतिविधि देखिन सक्ने जनाइएको छ।
आज रातिको समयमा भने देशभर सामान्यतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायतका प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि यस्तै मौसमीय गतिविधि देखिन सक्नेछ।
विशेषगरी लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसममा आउने यस्तो परिवर्तनले दैनिक जनजीवन, कृषि तथा यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।