काठमाडौं । अघिल्लो शुक्रबार उल्लेखनीय रूपमा बढेको सुनको भाउ आज घटेको छ भने चाँदीको मूल्य भने लगातार उकालो लागिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ३४ सय रुपैयाँले बढेको सुनको मूल्य आज घटेर तोलामा १ हजार रुपैयाँले कमी आएको हो। यससँगै आज सुनको भाउ तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँमा कायम भएको छ।
गत साताको तीन दिन लगातार घट्दो क्रममा रहेको सुनको मूल्य शुक्रबार भने उकालो लागेको थियो। तर, त्यो वृद्धि टिक्न नसक्दै आइतबार फेरि गिरावट देखिएको हो।
यता, चाँदीको मूल्यमा भने निरन्तर वृद्धि देखिएको छ। आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ। बजारमा चाँदीको माग बढेसँगै मूल्य पनि क्रमशः बढिरहेको व्यवसायीहरू बताउँछन्।