काठमाडौं । मौसमविद् डा. विनोद पोखरेलका अनुसार यस वर्षको मनसुन अपेक्षाकृत कमजोर रहने संकेत देखिएको छ। उनका अनुसार जेठ १५ देखि साउन १५ सम्मको अवधिमा औसतभन्दा कम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसले विशेषगरी धान रोपाइँमा प्रत्यक्ष असर पार्ने सम्भावना रहेको छ। प्रारम्भिक चरणमा पर्याप्त वर्षा नहुँदा रोपाइँ ३०–४० प्रतिशतमा सीमित हुन सक्ने उनले बताएका छन्। यद्यपि जल तथा मौसम विज्ञान विभागले औपचारिक निष्कर्ष भने सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।