सेती अस्पतालले नियमित नयाँ विरामीलाई डायलासिस सेवा नदिने

३ महिना अगाडि
सेती अस्पतालले नियमित नयाँ विरामीलाई डायलासिस सेवा नदिने

धनगढी । सेती प्रादेशिक अस्पतालले नयाँ विरामीलाई डायलासिस सेवा दिन नसक्ने बताएको छ । तर, इमरजेन्सीका विरामीलाई भने सेवा निरन्तर दिने अस्पतालको भनाइ छ । डायलासिस सेवा लिने विरामीको संख्या बढेपछि अस्पताल प्रशासन यस्तो निर्णयमा पुगेको हो । 

अस्पताल प्रशासनले सूचना जारी गर्दै इमर्जेन्सी बाहेक नयाँ बिरामीलाई डायलासिस सेवा अस्थायी रूपमा रोकिएको जानकारी दिएको हो। आवश्यक उपकरण, जनशक्ति र भौतिक संरचनाको अभावका कारण यस्तो निर्णय लिनुपरेको अस्पतालको भनाइ छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार हाल २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना बिरामीलाई नियमित सेवा दिइँदै आएको छ। उहाँले भन्नुभयो, ‘इमर्जेन्सी सेवामा कुनै कटौती गरिएको छैन, तर नयाँ बिरामी थप्ने अवस्था छैन। स्थान, उपकरण र दक्ष जनशक्ति सबैको अभाव छ।’

एक जना बिरामीले हप्तामा कम्तीमा दुई पटक डायलासिस गराउनुपर्ने हुँदा सेवा सञ्चालन समय लम्बिँदै गएको अस्पतालले जनाएको छ। कतिपय दिन राति १० बजेसम्म पनि सेवा दिनुपरेको र बिरामीको चाप दिनानुदिन बढ्दै जाँदा बाध्य भएर नयाँ भर्ना रोक्नुपरेको अस्पतालले जनाएको छ ।