काठमाडौँ । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ भने चाँदीको भाउ भने बढ्ने क्रम जारी रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दै २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन तोलाको २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि शुक्रबार भने सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको थियो। त्यसदिन तोलामा ३४ सय रुपैयाँले बढ्दै सुन २ लाख ९६ हजार १०० रुपैयाँसम्म पुगेको थियो। तर त्यसपछि लगातार गिरावट देखिएको हो।
यता चाँदीको मूल्य भने उकालो लागेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय मूल्यमा आएको उतारचढाव, डलरको विनिमय दर र माग–आपूर्तिको अवस्थाले सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन भइरहेको छ।