घाँस काट्ने क्रममा दुर्घटना : भिरबाट लडेर दुई जनाको ज्यान गयो

एक महिना अगाडि
घाँस काट्ने क्रममा दुर्घटना : भिरबाट लडेर दुई जनाको ज्यान गयो

खोटाङ । खोटाङको बारापोखरी गाउँपालिकामा घाँस काट्न जंगल गएका दुई पुरुषको भिरबाट लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बारापोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनकुमार राईको शनिबार भएको दुर्घटनामा ज्यान गएको हो।

प्रहरीका अनुसार उनीहरू शनिबार दिउँसो घाँस काट्न गाउँ नजिकैको जंगल पुगेका थिए। सोही क्रममा खुकुरी भिरबाट एकसाथ लडेको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलको अवस्थालाई आधार मान्दा पहिले बमबहादुर करिब ३ सय मिटर तल खसेका र उनलाई समात्ने प्रयास गर्दा मनकुमार पनि लडेको हुनसक्ने प्रहरीको भनाइ छ।

घटनाबारे जानकारी पाएपछि चिसापानी इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विजय लामिछानेको नेतृत्वमा टोली खटिएको थियो। खोजी कार्यका क्रममा आइतबार मात्रै दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।