काठमाडौं । एकअर्काको अस्तित्व नस्वीकार्ने खाले अभिव्यक्ति दिदै आएका प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ३ घण्टा लामो एक्लाएक्लै कुराकानी भएको छ । उनीहरुबीच तोकिएकै मितिमा चुनाव सफल पार्नेबारे सौहार्द कुरा भएको दुबै पक्षले जनाएको छ ।
पुराना दलका पुराना नेतासँग भेटेर जेनजीको भावना विपरित जान्न, भेटै गर्न मन लाग्दैन भन्ने कार्की र संविधान मिचेर चोरबाटोबाट सत्ता सम्हाल्न पुगेकोभन्ने ओलीबीच पछिल्लो समय सौहार्द सम्बन्ध बन्दै गएको बिहीबारको भेटले देखाउँछ । यतिवेला प्रधानमन्त्री सुशीला कार्की तोकिएकै मितिमा चुनाव गराएर निर्वाचित प्रतिनिधिलाई सरकार सुम्पिएर सफल बन्न चाहन्छन् ।
त्यस्तै कांग्रेसमा देखिएको किचलो र नयाँ पार्टीका नेताहरु दरोसँग मिल्न नसकेको देखेका ओली चुनावबाट आफूनै बलियो शक्ति भएर आउनेमा विश्वस्त बन्न थालेका छन् । त्यसैले उनी पनि अहिले चुनावमै केन्द्रित बनेका छन् । तर संसद पुनस्र्थापनाको राजनीतिक एजेण्डा कायमै राखेर चुनावी तयारीमा तीव्र छन्, ओली । त्यसैको मेसोमा बिहीबार उनले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेको बुझिन्छ ।
बिहीबार बिहान करिब ११ बजेतिर एमाले अध्यक्ष ओली दलका कुनै नेताहरू नलिई बालुवाटार पुगेका थिए । साथमा उनका स्वकीय सचिव राजेश बज्राचार्य मात्रै थिए ।
प्रधानमन्त्री कार्कीले पनि नेताहरूसँग भेटवार्ता गर्ने सन्देश प्रवाह गरेकी थिइन् । तर प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदी यो बीचमा विरामी परे । उनको दिल्लीमा उपचार भइरहेको छ । ओली सुवेदीको स्वास्थ्य अवस्था पनि बुझ्ने र प्रधानमन्त्रीसँग कुराकानी पनि गर्ने मेसो मिलाएर बालुवाटार पुगेका हुन् ।
यो कुराकानीमा प्रधानमन्त्री कार्कीले चुनाव हुने दिशामा सबै काम भइरहेको र यसमा दलहरुले अझै सघन सहयोग आवश्यक रहेको पुरानै कुरा आग्रह गरिन् ।
समानुपातिक चुनावका लागि दल दर्ता गर्ने दिन सकिन भन्दा अगाडि नै एमाले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेको थियो । त्यस्तै समानुपातिकको सूची बुझाउने क्रममा पनि कांग्रेस लगायतका दलको भन्दा अगाडि नै व्यवस्थित रुपमा सूची बुझाएकाले चुनाव प्रति सकारात्मक नै भूमिका खेलेको कार्कीले उल्लेख गरेकी थिइन् ।
एमालेले संसद् पुनर्स्थापनाको माग राखेकाले कथंकदाचित चुनाव नहुने दिशामा गयो भने आफ्नै एजेण्डा हाबी अपेक्षा पनि राखेको छ । तर चुनावको मिति तलमाथि हुने बित्तिकै आफूको औचित्यतामा प्रश्न उठ्ने भएकाले प्रधानमन्त्री कार्की कुनै हालतमा फागुन २१ बाट तलमाथि गर्न नहुनेमा स्पष्ट छन् ।
त्यसैले उनले सरकारमा सहभागी भएर राजनीतिक महात्वाकांक्षा राख्ने मन्त्रीहरूलाई बाहिरनका लागि संकेत गरिसकेकी छन् । कुलमान घिसिङ बाहिरिइसकेका छन् ।
चुनावका लागि सानो समूहले पनि अवरोध नगरोस् भन्ने उद्देश्यले सबै समूहसँग राजनीतिक संवाद पनि जारी छ । त्यही सिलसिलामा केही दिनभित्र सरकारले दुर्गा प्रसाईं समूहसँग थप औपचारिक सहमति गर्ने तयारी गरेको छ ।
यता चुनावका लागि निर्वाचन प्रहरी भर्ना खुलिसकेको छ । त्यस्तै मतपत्र छपाईको अन्तिम तयारी पनि पूरा भएको छ ।
प्रधानमन्त्री कार्कीसँग दलका शीर्ष नेताहरूको संवाद नै नभएपछि गत पुस ८ गते शीतल निवासमा राष्ट्रपतिले पहिलो संवाद गराइदिएका थिए । त्यसबेला चुनावबारे कुरा भएको थियो । राष्ट्रपतिले चुनावमा जान दलहरूलाई आग्रह गर्दा दलहरूले सरकारमाथि सुरक्षाको वातावरणलाई जोडेर प्रश्न राखेका थिए ।
त्यसपछि पुस १२ मा बालुवाटारमा नै कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूबीच छलफल भएको थियो । यो बीचमा सरकारी राजनीतिक संवाद समितिले तीन दलका शीर्ष नेताहरूलाई नै भेटर कुराकानी गर्दै वातावरण सहजीकरण गरेको थियो ।