चुनावी तयारी तीव्र, ८० हजार सेना खटिने

३ महिना अगाडि
चुनावी तयारी तीव्र, ८० हजार सेना खटिने

काठमाडौं । निर्वाचन आयोगले चुनावी तयारी तीब्र पारेको छ । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका लागि आयोगले निर्वाचन प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाउन सरकारलाई सुझाव दिएसँगै सरकारले पनि त्यसै  अनुसार कार्ययोजना बनाएको छ ।

यसपटकको निर्वाचनमा ८० हजार नेपाली सेना खटिने भएका छन् । नेपाली सेनाका अनुसार निर्वाचनपूर्व चरणमा मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागारलगायत संवेदनशील तथा महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी सेनाले लिने छ । त्यस्तै मतदानका दिन नेपाली सेना निर्वाचन स्थल तथा केन्द्रमा तेस्रो घेरामा परिचालित हुनेछ ।

निर्वाचन सुरक्षाका लागि एक लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरी खटाइने भएको हो । निर्वाचन प्रहरीमा सहभागी हुन चाहने इच्छुक नेपाली नागरिकले माघ १० गतेभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

यस्तै आयोगद्वारा जारी जनशक्ति व्यवस्थापनका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका, २०८२’ स्वीकृत भएपछि यस्तो व्यवस्था लागू हुने भएको छ । निर्देशिका अनुसार राजनीतिक दलसम्बद्ध संगठनमा भएका कर्मचारीलाई निर्वाचन आयोगले आगामी निर्वाचनमा नखटाउने भएको छ । फागुन २१ निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारी आफ्नो वडामा समेत जान पाउने छैनन् ।