काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सम्पन्न खेलमा चेन्नाइ सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई आठ विकेटले पराजित गर्दै प्ले अफ पुग्ने सम्भावनालाई बलियो बनाएको छ।
दिल्लीमा सम्पन्न खेलमा चेन्नाइका लागि ओपनर सन्जु सामसन नायक बने। उनले अविजित ८७ रनको उत्कृष्ट पारी खेलेर टोलीलाई सहज जित दिलाए। सन्जुले ५२ बलमा सात चौका र छ छक्का प्रहार गरेका थिए।
चेन्नाइले लक्ष्य पछ्याउने क्रममा १५ बल बाँकी रहँदा जित हात पारेको थियो। उनलाई अर्का ब्याटर कार्तिक शर्माले साथ दिँदै ३१ बलमा ४१ रन बनाए।
यसअघि दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १५५ रन बनाएको थियो। दिल्लीका लागि समिर रिज्भीले सर्वाधिक ४० रन बनाए पनि त्यो पर्याप्त हुन सकेन।
यस जितसँगै चेन्नाइको अंक १० पुगेको छ र टोली शीर्ष चार स्थानभन्दा केवल दुई अंकले पछाडि रहेको छ। यता दिल्ली भने आठ अंकसहित तालिकाको सातौं स्थानमा झरेको छ।
प्रतियोगिताअन्तर्गत आज सनराइजर्स हैदरावाद र पञ्जाव किङ्सबीच प्रतिस्पर्धा हुने तालिका छ। आगामी खेलहरूले प्ले अफको समीकरण अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ।