वर्षापछि अवरुद्ध राजमार्ग आंशिक रुपमा सञ्चालनमा, केही सडक अझै बन्द

एक महिना अगाडि
वर्षापछि अवरुद्ध राजमार्ग आंशिक रुपमा सञ्चालनमा, केही सडक अझै बन्द

काठमाडौं । केही दिनयताको निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये केहीमा यातायात सञ्चालन पुनः सुरु भएको छ।

प्रहरीका अनुसार सोमबार साँझको वर्षापछि ललितपुरको वाग्मती गाउँपालिका–३ भालुखोला क्षेत्रमा अवरुद्ध कान्तिलोकपथ, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ को भित्री सडकखण्ड, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित अरनिको राजमार्गको कोदारी खण्ड तथा मकवानपुरको भीमफेदी–८ भर्‍याङडाँडा क्षेत्रमा यातायात सञ्चालनमा आएको छ।

प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार केही राजमार्ग पूर्ण रूपमा खुलेका छन् भने केही स्थानमा एकतर्फी मात्र सञ्चालन भइरहेको छ। भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग र म्याग्दीको बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा छन्।

यद्यपि, इलामको रोङ गाउँपालिका–६ हुँदै झापा जाने कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध–६ र रोशी गाउँपालिका–७ क्षेत्रको बीपी राजमार्ग तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० क्षेत्रको मध्यपहाडी लोकमार्ग भने अझै पूर्ण रूपमा अवरुद्ध छन्।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा सवारी सञ्चालन पूर्ण रूपमा रोक लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले यात्रुहरूलाई अत्यन्त सावधानी अपनाउन, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।