माैसम पूर्वानुमान

देशभर वर्षा र हिमपातको सम्भावना, सावधानी अपनाउन आग्रह

एक महिना अगाडि
देशभर वर्षा र हिमपातको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यूनचापीय प्रणालीका कारण मौसम प्रभावित बनेको हो।

दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा पनि कोसी प्रदेशसहित पहाडी र हिमाली भूभागमा बदली कायम रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने तथा अन्य स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ।

जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार चितवनदेखि झापासम्मका क्षेत्रमा रातिदेखि नै मध्यम वर्षा भइरहेको छ र यो क्रम दिउँसोसम्म जारी रहने सम्भावना छ। उनले विशेषगरी पूर्वी मधेस क्षेत्रमा बढी वर्षा हुने संकेत दिएका छन्।

त्यस्तै, मौसमविद् विनोद पोखरेलले पश्चिमी वायुको प्रभाव अझै केही हप्तासम्म कायम रहने र यस अवधिमा देशका विभिन्न भागमा दैनिकजसो वर्षा हुन सक्ने बताएका छन्।

वर्षासँगै खहरे खोलामा आकस्मिक बाढी आउन सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्ने तथा बीपी राजमार्गअन्तर्गत रोशी खोलाजस्ता क्षेत्रमा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।