काठमाडौँ । पछिल्लो समय विद्युतीय माध्यम प्रयोग गरेर बैंक खाताबाट रकम चोरी हुने घटना बढ्दै गएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
ब्युरोका अनुसार विभिन्न एप तथा डिजिटल भुक्तानी प्रणालीको नामसँग मिल्दोजुल्दो शीर्षक प्रयोग गरी प्रयोगकर्ताको मोबाइलमा सन्देश पठाउने र त्यसमार्फत ठगी गर्ने प्रवृत्ति बढ्दो छ। विशेषगरी कनेक्ट आईपीएस जस्ता सेवासँग मिल्ने नाम राखेर पठाइने सन्देशले प्रयोगकर्तालाई झुक्याउने गरिएको पाइएको छ।
यस्ता सन्देशसँगै पठाइने ‘फिसिङ लिंक’ खोल्दा प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी हुने र बैंक खातामा अनधिकृत पहुँच पुग्ने जोखिम हुन्छ। यसरी प्राप्त विवरण प्रयोग गरी ठगहरूले खाताबाट ठूलो रकम निकाल्ने गरेका छन्।
ब्युरोका प्रवक्ता दिलीपकुमार गिरीका अनुसार पछिल्ला दिनमा यस्ता साइबर ठगीका घटना उल्लेख्य रूपमा बढेका छन्। उनले अपरिचित स्रोतबाट आएका लिंक नखोल्न, व्यक्तिगत तथा बैंकिङ विवरण कसैसँग पनि साझा नगर्न र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।
प्रहरीले डिजिटल कारोबार गर्दा उच्च सतर्कता अपनाउन र आधिकारिक एप तथा वेबसाइट मात्र प्रयोग गर्न सुझाव दिएको छ।