विराटनगर भन्सारमा ४ सयभन्दा बढी ट्रक अलपत्र, नयाँ नियमले आयात अवरुद्ध

एक महिना अगाडि
विराटनगर भन्सारमा ४ सयभन्दा बढी ट्रक अलपत्र, नयाँ नियमले आयात अवरुद्ध

विराटनगर । विराटनगरस्थित रानी एकीकृत भन्सार जाँच चौकीमा ४ सयभन्दा बढी मालवाहक ट्रक रोकिँदा अर्बौँ मूल्यका सामान अलपत्र परेका छन्।

तयारी वस्तुको आयातमा भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने नयाँ नियम लागू भएपछि ट्रकहरू जाँचपास नहुँदा सीमामै रोकिएका हुन्। विगत आठ दिनदेखि जारी यो अवरोधका कारण बजार आपूर्ति प्रणालीमा समेत असर पर्ने संकेत देखिएको छ।

रोकिएका ट्रकहरूमा सौन्दर्य सामग्री, तयारी पोसाक, खाद्यान्न, बिउबिजन, टायरलगायत दैनिक उपभोग्य तथा औद्योगिक सामग्री रहेका छन्। लामो समयसम्म घाम र धुलोमा सामान थन्किँदा गुणस्तर खस्कने र बजारमा अभाव सिर्जना भई मूल्यवृद्धि हुन सक्ने व्यवसायीले चेतावनी दिएका छन्।

भन्सार विभागले औद्योगिक कच्चा पदार्थ, मेसिनरी तथा छिट्टै बिग्रिने वस्तुका लागि ‘स्वघोषणा’को लचिलो व्यवस्था प्रस्ताव गरे पनि त्यो कार्यान्वयन हुन सकेको छैन।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले माथिल्लो निकायबाट स्पष्ट निर्देशन नआएसम्म एमआरपी नभएका सामान जाँचपास गर्न नसकिने बताए। यसले आयात–निर्यात प्रणालीमा तत्काल समाधान आवश्यक रहेको देखिएको छ।