अस्थायी डाइभर्सन बनेपछि बीपी राजमार्गमा यातायात पुनः सञ्चालन

एक महिना अगाडि
अस्थायी डाइभर्सन बनेपछि बीपी राजमार्गमा यातायात पुनः सञ्चालन

काभ्रेको रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्गमा पुनः सवारी सञ्चालन गरिएको छ। बाढीले बगाएको डाइभर्सन मर्मत गरी नयाँ अस्थायी मार्ग तयार गरेपछि बिहीबार बिहानदेखि गाडी आवतजावत सुरु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हाल सडक एकतर्फी तथा सावधानीपूर्वक सञ्चालनमा ल्याइएको हो। प्रहरीले चालक तथा यात्रुलाई लेन अनुशासन पालना गर्न, ट्राफिक नियमको पूर्ण रूपमा पालन गर्न र यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

पछिल्ला दिनमा परेको वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो। चारसयबेसी, घुमाउने, दाउन्ने र नार्केल क्षेत्रका डाइभर्सन बग्दा सडक पटक–पटक अवरुद्ध हुँदै आएको थियो। गत साताको बाढीले ह्युम पाइपसमेत बगाएपछि यातायात पूर्ण रूपमा ठप्प बनेको थियो।

बाढी प्रभावित क्षेत्रमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि अहिले सडक खुलाइएको भए पनि जोखिम भने अझै कायम रहेको जनाइएको छ। वर्षा जारी रहे पुनः समस्या आउन सक्ने भएकाले सतर्क भएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।

यसअघि २०८१ साल असोज १२ गते आएको ठूलो बाढीले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडकमा गम्भीर क्षति पुर्‍याएको थियो। क्षतिग्रस्त सडक खण्डमध्ये काभ्रेपट्टि चार स्थान र सिन्धुलीतर्फ एक स्थानमा पुनर्निर्माण कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

प्रहरीले विशेषगरी रातिको यात्रा जोखिमपूर्ण हुने भन्दै सकेसम्म दिनको समयमा मात्रै यात्रा गर्न सुझाव दिएको छ। बीपी राजमार्गमा सामान्य वर्षामै पनि सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएकाले यात्रुहरूले यात्रा अघि सडक अवस्थाबारे जानकारी लिनुपर्ने अवस्था कायम छ।