नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुनको भाउ एकैदिन ५८ सय रुपैयाँले वृद्धि भएर प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको थियो। मंगलबार भने सुनको मूल्यमा गिरावट आएको थियो। त्यसपछि लगातार दुई दिन बजारमा सुनको मूल्य बढ्दो क्रममा देखिएको हो।
चाँदीको मूल्य पनि आज फेरि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १ सय रुपैयाँले महँगिएर ५ हजार १ सय ५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ कायम भएको थियो।
यससँगै पछिल्ला दुई दिनमा चाँदीको मूल्य कुल २७५ रुपैयाँले वृद्धि भएको देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।