काठमाडौं । सरकारले बालबालिकालाई जुलुस, प्रदर्शन तथा राजनीतिक गतिविधिमा सहभागी गराउन नपाइने भन्दै कडा चेतावनी दिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको बाल संरक्षण तथा विकास महाशाखाले सूचना जारी गर्दै यस्तो कार्य कानुनविपरीत भएको जनाएको हो।
बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार बालबालिकालाई हड्ताल, बन्द, धर्ना, चक्काजाम वा राजनीतिक प्रदर्शनमा प्रयोग गर्नु बालअधिकारविरुद्धको कसूर मानिने महाशाखाले उल्लेख गरेको छ।
बाँकेको कोहलपुरमा सुकुम्बासी आन्दोलनका क्रममा बालबालिका प्रयोग गरिएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि महाशाखाले सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निगरानी र कारबाहीका लागि निर्देशन दिएको जनाएको छ।