सुकुम्बासी बस्ती हटाएको विरोधमा माइतीघरमा प्रदर्शन

एक महिना अगाडि
सुकुम्बासी बस्ती हटाएको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । सुकुम्बासी बस्तीमा जबर्जस्ती डोजर चलाएर उठिबास लगाइएको भन्दै भूमिहीन तथा सुकुम्बासीहरूले काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्। संयुक्त सुकुम्बासी मोर्चा नेपालको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरूले थाल र चम्चा बजाउँदै सरकारविरुद्ध नाराबाजी गरेका हुन्।

प्रदर्शनकारीहरूले “मानवअधिकारको सम्मान गर”, “विकासका नाममा विस्थापन बन्द गर” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक क्षेत्रमा रहेका बस्ती हटाइएपछि विस्थापित परिवारलाई सरकारले होल्डिङ सेन्टरमा राखेको छ। प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्थाविना बस्ती हटाउनु अमानवीय भएको आरोप लगाएका छन्। सरकारले भने सार्वजनिक जग्गा संरक्षणका लागि अभियान सञ्चालन गरिएको जनाएको छ।