ललितपुर । ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारेको छ। मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि मन्त्रालयको टोलीले शुक्रबार अनुगमनसहित छापा मारेको हो।
श्रममन्त्री रामजी यादव का स्वकीय सचिव सरोज यादवका अनुसार छापाका क्रममा कार्यालयबाट ४३७ वटा राहदानी र ७ लाख ९० हजार रुपैयाँ नगद बरामद गरिएको छ। बरामद नगदको कुनै आधिकारिक रसिद फेला नपरेको पनि उनले जानकारी दिए।
प्रधानमन्त्री कार्यालयबाट जानकारी प्राप्त हुनासाथ तत्काल अनुगमन तथा छापा प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ। मन्त्रालयले म्यानपावर कम्पनीलाई सिल गरेर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।
स्वकीय सचिव यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि गुनासो आएमा मन्त्रीको सचिवालय २४सै घण्टा सक्रिय रहने बताएका छन्।