माैसम पूर्वानुमान

देशका विभिन्न क्षेत्रमा आज वर्षा र चट्याङको सम्भावना

एक महिना अगाडि
देशका विभिन्न क्षेत्रमा आज वर्षा र चट्याङको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको हो।

दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश का हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। मौसमविद्हरूले चट्याङ र वर्षाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।