आईपीएल

दिल्लीलाई हराउँदै कोलकाताको सहज जित

एक महिना अगाडि
दिल्लीलाई हराउँदै कोलकाताको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ ।

दिल्लीले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १४ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा फिन एलेनले अविजित १ सय रनको शतकीय पारी खेले । यस्तै क्यामरुन ग्रीनले ३३ रन तथा अजिन्क्या रहाणेले १३ रन जोडे । दिल्लीका अक्षर पटेलले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । दिल्लीका पथुम निसान्काले ५० रनको अर्धशतकीय इनिङ खेले । आशुतोष शर्माले ३९ रन तथा अक्षर पटेलले ११ रन बनाए ।

कोलकाताका कार्तिक त्यागी र अनुकूल रोयले समान २–२ विकेट लिए भने क्यामरुन ग्रीनले १ विकेट हात पारे ।
यो जितसँगै कोलकाता १० खेलबाट ९ अंकसहित तालिकाको सातौँ स्थानमा पुगेको छ । एक खेल बढी खेलेको दिल्ली ८ अंकसहित आठौँ स्थानमा रहेको छ ।