काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको विशेष महाधिवेशनका लागि २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोछ ।
करिब ३ हजार प्रतिनिधिका लागि १५ सयभन्दा बढी कोठा बुक गरिएको आयोजकले जनाएका छन् भने प्रतिनिधि ६२ प्रतिशतका हाराहारीमा आउने अनुमान छ । काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ मा हुने विशेष महाधिवेशनका लागि १२ वटा व्यवस्थापन उपसमितिले तयारी तीव्र पारेका छन्।
विशेष महाधिवेशन पक्षका अनुसार आवास तथा खाना, मञ्च निर्माण र यातायात व्यवस्थानका लागि खर्च हुने भएको छ। खाना तथा आवास व्यवस्थापन उपसमितिका प्रमुख रमेश धमलाका अनुसार काठमाडौँका सुनधारा, ठमेल, एयरपोर्ट, सिनामंगल र लैनचौरका होटलमा १५ सय कोठा बुकिङ गरिएको छ । भृकुटीमण्डपमा पनि एक दिन अगावै अर्थात शनिबारबाट हल बुक गर्न १० लाख रुपैयाँ थपिएको बताइएको छ ।