काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि कोसी, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार कोसी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा कोसीको तराई क्षेत्रसहित अन्य प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मौसमविद्हरूले चट्याङ र वर्षाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।