काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै, मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको प्रभाव पनि देखिएको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको विभागले जनाएको छ । कोशी र बागमती प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । तराईका भू–भागमा भने आंशिक बदली रहनेछ । पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति पनि मौसम पूर्ण रूपमा सुधार नहुने विभागले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ ।
विभागका अनुसार रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
विभागले वर्षा, चट्याङ तथा खराब मौसमका कारण दैनिक जनजीवन र यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।