मोरङ सीमाक्षेत्रबाट २० लाख भारतीय रुपैयाँ बरामद, युवक फरार

४ हप्ता अगाडि
मोरङ सीमाक्षेत्रबाट २० लाख भारतीय रुपैयाँ बरामद, युवक फरार

मोरङ । मोरङको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ।

सशस्त्र प्रहरी बलका अनुसार रतुवामाई नगरपालिका–२ स्थित घररुचोक क्षेत्रबाट गएराति २० लाख भारतीय रुपैयाँ फेला पारिएको हो। बरामद रकम ५ सय दरका नोटमा रहेको जनाइएको छ।

सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मोटरसाइकल सवार व्यक्तिमाथि शंका लागेपछि जाँच गर्न खोजेको थियो। त्यसक्रममा मोटरसाइकलको पछाडि बसेका एक युवकले बोकेको झोला त्यहीँ फालेर फरार भएका प्रहरीले जनाएको छ।

प्रहरीले झोला खोलेर हेर्दा त्यसमा ५ सय दरका ४० बण्डल भारतीय रुपैयाँ फेला परेको थियो। घटनामा संलग्न युवकको पहिचान खुल्न सकेको छैन।

बरामद रकम आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।