काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको नयाँ प्रणाली सक्रिय भएकाले देशभर वर्षा र तापक्रम घट्ने सम्भावना रहेको जनाएको छ ।
मौसमविद्का अनुसार सोमबार रातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्छ ।
कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ ।
प्रि–मनसुन प्रणाली सक्रिय रहेकाले लगातार वर्षा हुँदा गर्मीयाममा पनि चिसो महसुस हुन सक्ने मौसमविद्को भनाइ छ । विभागले नदी किनार, पहिरो प्रभावित क्षेत्र तथा कमजोर संरचनामा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।